सात वर्षमा पनि बनेन आँधीखोला पुल
स्याङ्जा | माघ १५, २०८१
स्याङ्जा: भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन।
भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन।
विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए।
उनका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन। तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक २०८१ मङ्सिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ। पटकपटक गरी तेस्रोपटक थपिएको समयावधि मङ्सिरमा सकियो, थप गरिएको समय सकियो तर पुल निर्माण सकिएन।
निर्माण कम्पनीले भ्याटसहित रु १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो। एक सय २५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताए।
चालिस–चालिस मिटरको तीन स्पानमध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्म पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ। पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ।
पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुने छ। निर्माण व्यवसायी चन्द्र थकालीले उक्त पुलको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरे। उनले पुलको धेरै काम सकिएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको बताए।
‘पुलको दुवैतर्फको स्पान निर्माण भइसकेकाले अहिले बीचको एउटा स्पान निर्माणका लागि फिलिङको काम भइरहेको छ,’ उनले भने, ‘काम सक्ने लक्ष्यसहित कामदार लगाएका छौं। दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारीसहित अगाडि बढेका छौं।
पुल निर्माणसँगै खोलाको दायाँबायाँ निर्माण गर्नुपर्ने पर्खाल निर्माण नगर्दा पनि वर्षाको समयमा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गराएको छ। बर्खामा यस ठाउँमा खोलाले डुबानमा पार्ने गरेको छ। हिउँदमा बाँसको फड्के बनाएर वा खोला तरेर वारपार गर्ने स्थानीय बर्खायाममा घुमाउरो बाटो हुँदै झोलुंगे पुलबाट वारपार गर्नुपर्छ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

